वीरगन्जबाट ठुलो परिमाणमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ। पर्सा प्रहरीले वीरगन्जका विभिन्न ठाउँबाट विलविजक भन्दा बढी लोड गरिएका सामान बरामद गरेको हो। 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार छलीका सामानसहित ५ वटा ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले बताए।  नियन्त्रणमा लिएका ट्रकसहित सबै सामान करिब ६७ लाख ६१ हजार ५ सय ९४ रुपैयाँ मूल्य बराबरको रहेको ढुङ्गेलले बताएका छन्।

लत्ताकपडा, खुद्रा सामान, प्याज, खाद्यान्न तथा हार्डवेयर पार्टस बरामद भएको पर्सा प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रहरीको भन्सार छली रोकथाम विशेष टोलीले वीरगन्जको घण्टाघरबाट ना ३ ख ७६५६ र प्रदेश ३–०३–००१ ख ००९८ नम्बरको मालवाहक गाडीबाट खाद्यान्न खुद्रा सामान बरामद गरेको छ भने ड्राइपोर्ट एरियामा बीआर ५ जी ९९९२ पिकअप गाडीबाट कुर्ता सुरुवाल बरामद गरेको छ।

यसैगरी गण्डकमा ना ३ ख ३७४ र ना ३ ख ४८७७ नम्बरको मालवाहक ट्रक बरामद गरिएको छ। ती ट्रकबाट खाद्यान्न तथा खुद्रा सामानहरू बरामद भएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै रजत जयन्ती चोकबाट हार्डवेयर मोटर पार्टस र रेल्वे रोडबाट चक्लेटहरु बरामद गरिएको ढुङ्गेलले बताए। 

बरामद सबै सामान तथा मालवाहक गाडीहरू आवश्यक कारबाहीका लागि राजस्व कार्यालय पथलैया बुझाइएको प्रहरीले जनाएको छ।