मोरङको सुन्दरहरैंचा नगरपालिका–६ मा जंगली हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन्। आइतबार साँझ ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष रायलाई हात्तीले आक्रमण गरेर घाईते बनाएको हो।
मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालकाअनुसार घाँस काट्न शिवम् साझेदारी वन गएका बेला जंगलमा जम्काभेट हुँदा श्रेष्ठ र रायलाई साँझ ५ बजेतिर हात्तीले आक्रमण गरेको हो।
हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ। जंगली हात्तीको १५–२० वटाको संख्यामा रहेको स्थानीयले दाबी गरेका छन्।
प्रहरीका अनुसार घाइतेमध्ये श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।