भोजपुरको हतुवागडी गाउँपालिका-७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो।

खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली पठाइएको थियो।

भोजपुर नगरपालिका-१२ टक्सारको मालबाँसेमा पनि आगलागी भएको छ। जंगलको डढेलो बस्तीमा पस्दा ६ घरगोठ जलेको प्रहरीले जनाएको छ।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ। बसोबास नभएको अर्को एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरु भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको हो। सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आगो निभाउन परिचालन गरिएको थियो।