रंगेली नगरपालिका वडा-३ को सतारबस्तिमा भएको भयानक आगलागीमा १९ घर जलेर नष्ट भएको  प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ। 

शनिबार दिउँसो २ः३० बजेतिर सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागााईँले जानकारी दिए। बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको उनको भनाइ छ।

उन्नाइस घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएका छन्। विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको छ।

कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि आगो निभाउने काम भएको छ। घटनाबाट भएको क्षतिको विवरण भने आइ सकेको छैन ।