झापाको मेचीनगर-१५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाइउड उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ।
झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो।
आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ। यद्यपि अझै नियन्त्रणमा लिन नसकिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए। उनका अनुसार उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ। तयारी माल भने जोगिएको उनले बताए।
‘आगो अझै नियन्त्रणमा आउन सकेको छैन। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो निभाउने प्रयास भइरहेको छ,’ उनले भने।
आगलागीको कारण अनुसन्धान भइरहेको र आगलागीबाट कति क्षति भयो भन्ने विषय अहिले नै यकिन नभएको उनले बताए। उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् भने करोडौँ रुपैयाँ लगानी भएको उद्योगीको भनाई छ।