इलाममा आदिवासी लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव र किरात याक्थुङ चुम्लुङ आयोजना गरिने भएको छ। 

चुम्लुङ महासचिव निरन्ती तुम्बापोले चुम्लुङ सङ्घीय कार्यसमिति तथा आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव मूल आयोजक समितिको आयोजना र चुम्लुङ इलाम कार्य समितिको व्यवस्थापनमा यही यही फागुन २४ र २५ गते महोत्सव तथा २५औँ राष्ट्रिय चुम्लुङ आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो।

“फागुन २५ गते साँझ सहभागी सबैलाई तरेचा (सांस्कृतिक परिकार) मा सहभागी गराइनेछ”, चुम्लुङ महासचिव निरन्ती तुम्बापोले भन्नुभयो। राष्ट्रिय चुम्लुङमा विविध विषयमा छलफल हुने उहाँको भनाइ छ। इलामस्थित चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले पूर्वका नौ, उपत्यकाका तीन र चितवन गरी १३ जिल्लाबाट पनि सहभागिता जनाइनेछ। 

लिम्बूवान प्रदेश कार्यसमिति र नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति, थप छ विषयगत सङ्गठनका प्रतिनिधि, विदेशस्थित चुम्लुङका प्रतिनिधि, सम्बन्धनप्राप्त लिम्बूजन्य तथा थरगत संस्थाका प्रतिनिधि, व्यवस्थापक जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य र अन्य गरी करिब दुई सय ३० जना छलफलमा सहभागी हुनेछन्। 

“त्यसअवसरमा करिब दुई सय च्याबु्रङ नृत्य (केलाङ) सहित सांस्कृतिक कला प्रस्तुत गरिनेछ”, महासचिव तुम्बापोले भन्नुभयो, “सहभागीले तागा (पुरुषले लाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शन गर्नेछन् ।” महोत्सवमा मालाङ (धाननाच) पनि प्रस्तुत गरिनेछ। 

चुम्लुङ सङ्घीय उपाध्यक्ष कमल तिगेलाले भन्नुभयोे, “सांगठानिक तथा प्रगति र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति–कार्यक्रम तय गरिनेछ।” 

यसका साथै मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बूवान आन्दोलन, मुन्धुम निसान हिम अवधारणा, याक्थुङ÷लिम्बू भाषा विकासको योजना बनाइने पनि उहाँले जानकारी दिनुभयो। इलाममा विजयबहादुर लिम्बूलगायतका सहिदको लिम्बुवानका लागि बलिदानको चर्चा र लिम्बू याक्थुङ भाषा अभियन्ता आसाहाङ मादेनको योगदानको चर्चा पनि गरिने उहाँको भनाइ छ। 

महोत्सव उद्घाटनका दिन इलामस्थित नारी विकास सङ्घको कार्यालयको प्राङगणबाट सुरु हुने सांस्कृतिक झाँकीसहितको प्रदर्शन इलाम चोक बजार पुगेर समारोहमा परिणत हुनेछ। इलाममा २०४६ सालमा चुम्लुङ गठन भएको हो। चुम्लुङले आदिवासी याक्थुङ/लिम्बू समुदायको सांस्कृतिक, भाषिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रमा लामो समयदेखि काम गरिरहेको चुम्लुङ इलामका सचिव राम योङहाङले बताउनुभयो।