कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताउनुभएको छ।
द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका–९ सुर्खेतद्वारा आज आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ एवं धार्मिक महामहोत्सव’ शुभारम्भ गर्नुहुँदै उहाँले राजनीति र धर्म फरक देखिए पनि मर्म एउटै रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “समाजमा रहेका अन्याय, अत्याचार, कुरीति, कुसंस्कार र विभेद अन्त्य गरेर मानव सेवा गर्नु नै राजनीति र धर्मको लक्ष्य हुनुपर्दछ।”
धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा आन्तरिक र बाह्य पर्यटक आर्कषणका लागि आवश्यक पूर्वाधार निर्माणलाई जोड दिएको बताउँदै मुख्यमन्त्री शर्माले भन्नुभयो, “कैलाश मानसरोवरलाई गन्तव्य बनाउनेगरी सर्किट तयार गनुर्पछ।
कर्णाली प्रदेशका विभिन्न धार्मिक र प्राकृतिक पर्यटकीयस्थल हाम्रा सम्पदा हुन्। पयर्टन समृद्धिको माध्यम हो।” मानिसलाई आर्थिक सम्पन्नताले सुख र सामाजिक न्यायले खुसी तुल्याउने भएकाले त्यो अवस्था निर्माणमा सरकार लागेको उहाँको भनाइ थियो।
फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “सरकार फेरबदल भइरहने प्रणालीबारे समयमै सोचेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्णसमानुपातिक निर्वाचन प्रणाली अवलम्बन हुनसकेमात्र राजनीतिक स्थिरता कायम हुन्छ। अब दलहरूको बहस यता केन्द्रित हुन जरुरी छ।”
महायज्ञमा सांसद हृदयराम थानी, सांसद नरबहादुर विष्ट, कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टलगायतले मानव जीवनलाई अनुशासित र नैतिक मूल्य, मान्यताका बारेमा ज्ञान दिने कार्यक्रमले समाजलाई सभ्य एवं सुसंस्कृत बनाउने धारणा व्यक्त गर्नुभएको थियो।