मोरङको पथरीशनिश्चरेमा एक जना बालिकाको सोमबार राति हत्या भएको छ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भई हाल पथरीशनिश्चरे नगरपालिका–७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
उनका अनुसार पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको थिइन्।
विनोदले आफ्नो घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन्। २ वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेकी थिइन्।
शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर बालिकाको निर्मम तरिकाले हत्या गरेको डीएसपी दाहालले जानकारी दिएका छन्। उनका अनुसार घटनाको प्रकृति हेर्दा पछाडिबाट हतियार प्रहार भएको देखिन्छ। हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको जानकारी उनले दिए।
‘घर परिसरमै रहेको शौचालय जाने क्रममा बालिकामाथि हतियार प्रहार भएको भनिएको छ। चिच्याएको आवाज आएपछि हेर्दा बहिनीको ढुकढुकी मात्रै थियो भनेर दाजु विनोदले भनेका छन्,’ डीएसपी दाहालले भने, ‘दाजुले घटना थाहा पाएको केहीबेरमै उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ उपचारका लागि अस्पताल लैजानसमेत पाएनछन्।’
प्रहरीका अनुसार घटनामा संलग्नको पहिचान भइसकेको छैन। घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।
प्रहरीले घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुरको प्रयोग समेत गरेको छ। तर, हालसम्म हत्यामा संलग्नका बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको डीएसपी दाहालले बताए।
हत्यामा संलग्नको खोजीमा प्रहरी जुटेको छ,’ उनले भने, ‘बालिकामाथि पटक–पटक हतियार प्रहार भएको छ। विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको छ।’ प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने प्रहरीको भनाइ छ। घटनास्थलबाट संकलन गरिएको सबुत प्रमाणलगायतलाई केलाएर गहिरो ढंगले घटनाको अनुसन्धान अघि बढाइएको दाहालले बताएका छन्।