मोरङको पथरीशनिश्चरेमा तीव्र गतिको कारले ठक्कर दिँदा शनिबार राति एक जनाको मृत्यु भएको छ।

पूर्व–लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा प्रदेश १–०१–००१ च ७९६४ नम्बरको कारले गतराति ९ बजेतिर पैदलयात्रीलाई ठक्कर दिएको थियो।

प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका पथरीशनिश्चरे–१० का ४३ वर्षीय सन्तोष लिम्बूको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबरीमा उपचारको क्रममा मृत्यु भएको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले पैदल हिँडिरहेका बेला लिम्बूलाई ठक्कर दिएको थियो।

कार र चालक झापाको दमक नगरपालिका–५ का ४२ वर्षीय घनश्याम रिजाललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । कारको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।