सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौँ आएका मिटरब्याज पीडितहरू सिंहदरबार क्षेत्र प्रवेश नपाएपछि भृकुटीमण्डप सडक खण्डमै धर्ना बसेका छन्। शुक्रवार पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत सिंहदरबार मार्चमा निस्किएका हुन्।
मिटर ब्याज पीडितहरूले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका थिए। पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेको हो।
उनीहरू बुधवार बेलुका थानकोटस्थित पार्कमा बसेका थिए। बिहीबार सिंहदरबार आउने कार्यक्रम भए पनि पानीका कारण रोकिएका उनीहरू शुक्रवार आएका थिए।