धरानमा ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’आयोजना गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले लाङ्घाली सभाहलमा आयोजना गरेको महोत्सवमा ४४ भाषाका ४४ वटा कविता वाचन गरिएको थियो।
महोत्सवमा प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले भाषाको शक्ति सञ्चार गर्नु रहेको र मातृभाषा बिना एक सेकेन्ड पनि बाँच्न नसकिने बताए। ‘राज्यले भाषामाथि विभेद गरेको छ। स्थानीय तहले बाटोघाटो बिजुली र पुल आदि निर्माणका लागि बजेट छुट्याउँछ तर भाषाको विकासको बारेमा त्यति चासो राख्दैन,’ उनले भने।
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भाषासँगै इतिहास र संस्कृति जोडिएको हुने बताए। ‘राजनीतिक दृष्टिकोणबाट भाषा भनेको सबैभन्दा ठूलो शासन हो भन्ने मेरो ठम्याइ रहेको छ। अरूबाट शासित भयो भने भाषा लोप हुने खतरा देख्छु,’ उनले भने।
भाषाविद् प्रा. डा. टंकप्रसाद न्यौपानेले भाषा विचार विनिमयको सशक्त माध्यम भएको बता। ‘प्रत्येकको मातृभाषा पहिलो प्राप्ति भाषा भएकाले अरू सिकाइका भाषा हुन्,’ उनले भने।
उक्त अवसरमा प्रज्ञा प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ यस वर्ष नेपाल भाषाका साहित्यकार डा। योगेन्द्रमान प्रधानाङ्ग र उराव भाषाका साहित्यकार बेचन उरावलाई प्रदान गरियो । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ।