अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौँ मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन्। पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताउनुभयो ।

शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि रु.९० प्रतिकेजीमा सुन्तलाको हिसाब गरे पनि किसानले करिब रु.५६ लाख ७० हजार घाटा व्यहोर्नु परेको छ। किसान मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल, रेवतीराज पौडेल र खगेन्द्र पौडेलले शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला राख्नुभएको थियो। बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि घाटा परेको छ।

अघिल्ला दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएका थियो । यस वर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर किसानलाई गाउँमै शीतभण्डारमा सुन्तला राख्ने तरिका सिकाएको थियो । सिकाएअनुसार सुन्तला भण्डारण गर्दा पनि कुहिएर नष्ट भएको किसानको भनाइ छ । 

सुन्तला कसरी र किन कुहियो भनी आइतबार नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्यको र कृषि विकास निर्देशनालयको टोलीले स्थलगत रुपमा अवलोकन गरी अनुसन्धान सुरु गरेको कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले बताउनुभयो ।

वैज्ञानिकको टोलीले गरेको अनुगमनको प्रतिवेदन आउन केही दिन लाग्ने उहाँले बताउनुभयो । प्रारम्भिक जानकारीअनुसार सुन्तलाको ‘ट्रिटमेन्ट’ राम्रोसँग नभएको देखिएको छ । अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी बर्सेनि सुन्तला बिग्रिँदा किसान चिन्तित भएका छन् ।