राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने देशीय निर्देशक (कन्ट्री डाइरेक्टर)फारिस हदाद जार्वोसबीच भेटवार्ता भएको छ।
आज सिंहदरबारस्थित आयोगको कार्यालयमा भेटवार्ता भएको आयोगका उपाध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ। भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६औँ आवधिक योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ।
भेटवार्ताका क्रममा आयोगका उपाध्यक्ष श्रेष्ठले हाल मस्यौदा निर्माणको क्रममा रहेको १६औँ योजना पूर्वाधार निर्माण, सामाजिक क्षेत्र सुधार, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताउनुभयो।
विद्यमान संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिएको श्रेष्ठले उल्लेख गर्नुभयो। विश्व बैंकलगायतका विकास साझेदारहरुले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभयो ।