रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ। उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्।
गुन्द्रुकलाई गुणस्तरीय बनाउन किसानलाई तालिम र ड्रायर मेसिन अनुदान दिइने गरेको गाउँपालिकाले जनाएको छ। गुन्द्रुकमा किसानलाई प्रतिकिलो रु.८० अनुदान दिइने छभने गुन्द्रुकको अमिलोपन, सुक्खापन, आकार, रङ्ग लगायत कस्तो बनाउने भन्नेबारे किसानलाई प्राविधिक सहयोग गर्ने गरिएको छ।
पालिकामा साग उत्पादन बढेकोले किसानले उत्पादन गरेका सबै साग किन्न सक्ने गरी प्रत्येक वडामा एउटा प्रशोधन उद्योग खोल्ने तयारी रहेको छ। सागमा किसानलाई आकर्षित गराउन उत्पादकत्वका विषयमा जानकारी गराउन जरुरी रहेको बताउँदै शारदा अर्यालले एक रोपनी क्षेत्रफलमा कुन कृषि उपज कति फल्छ भनेर तुलना गर्ने हो भने साग उत्पादनका हिसाबले श्रम, बजार मूल्य सबै हिसाबले फाइदाजनक बताउनुभएको छ।
पालिकाले १२ प्रकारका उत्पादनलाई सुकाएर बजारमा ल्याउने तयारी गरेको छ। एक वडा एक सहकारीमार्फत यसको व्यवस्थापन हुुन्छ। प्रोडक्सन ग्रुप सहकारी सदस्य हुनेछ भने सदस्यले उत्पादन गरेका कुरा सहकारीले किनिदिने छ, त्यो प्लान्ड सरकारले बनाएर सहकारीलाई ह्यान्डओभर गर्नेछ र त्यहाँ चै उत्पादित वस्तुको प्रशोधन गरेर बजारीकरण गरिन्छ।
“बजारमा कपडा किन्न जाने मान्छे राम्रो गुणस्तरको कुन छ भनेर ब्रान्ड खोज्न सुरु भइसक्यो।अब हरेक उपभोक्ताले हरेक उपभोगीय सामानको ब्रान्ड खोज्ने बेला आएको छ। हामीले खानेकुरा पनि ब्रान्डको हुन जरुरी छ । खानेकुरालाई ब्रान्ड बनाएर बिक्री गर्न सकेनौँ भने हाम्रा सबै किसान एक दिन पलायन हुन्छन् ।”