नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको कारण ३७ हजार भन्दा बढीको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ।  एक हप्ता अगाडि नेपाल विकास अनुसन्धान प्रतिष्ठानले नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको कारण ३७ हजार पाँच सय जनाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको हो। 

सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने मृत्युको सङ्ख्या सन् १९९० देखि हरेक वर्ष तीव्र गतिमा बढेको देखिन्छ। प्रतिवेदनमा हरेक पाँच जनामध्ये एक जनाको मृत्यु धूम्रपानले हुने उल्लेख छ। 

सुर्तीजन्य पदार्थको कारण सन् २००० मा २५ हजार तीन सयभन्दा कम रहेको मृत्युदर ४ वर्षमा बढेर सन् २०१९ मा आइपुग्दा ३७ हजार पाँच सय पुगेको छ। 

सन् १९९०मा सुर्तीजन्य पदार्थ मृत्युकाे चौथो ठूलो जोखिम कारक थियो भने सन् २०१९ मा नेपालमा हुने मृत्युको दोस्रो ठूलो कारक सुर्तीजन्य पदार्थ बनेको छ। 

दिगो विकासको लक्ष्य अनुसार नेपालले सन् २०३० सम्ममा सुर्तीजन्य पदार्थको उपभोगमा ५० प्रतिशतले कमी ल्याएर १५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। सन् २०१९मा गरिएको स्टेप सर्भेका अनुसार नेपालमा १४.५ प्रतिशतले चुरोटको सेवन गर्छन्। यही अनुपातले वृद्धि भएमा सन् २०५० सम्ममा १३ लाख ४० हजार नेपालीले सुर्तीजन्य पदार्थका कारण ज्यान गुमाउने अनुमान गरिएको छ।

 एसियामा बढी मृत्यु हुने देशमा नेपाल

दक्षिण एसियामा धूमपानबाट सबैभन्दा बढी मृत्यु हुने देशमध्ये नेपाल छ।  मृत्युदरमा नेपालले भारतलाई उछिनेको छ। ३० वर्ष अगाडि नेपालमा सुर्तीजन्य पदार्थबाट मृत्युदर श्रीलङ्कामा भन्दा कम थियो भने हाल श्रीलङ्काभन्दा दोब्बर बढेको छ।  सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने मृत्यु विगत ३० वर्षमा ६० प्रतिशतभन्दा बढीले बढेको उक्त प्रतिवेदनमा उल्लेख छ। दक्षिण एसियाका अन्य देशको अनुपातमा सुर्तीजन्य पदार्थबाट हुने मृत्युको अनुपात नेपालमा सबैभन्दा बढी छ। 

नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ

सुर्तीजन्य पदार्थ नसर्ने रोगको प्रमुख कारक बन्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मानसिक तथा नसर्ने रोग शाखाका प्रमुख डा.फणीन्द्र बराल बताउनुहुन्छ। सुर्तीजन्य प्रदार्थको सेवनले क्यान्सर, मधुमेह, मुटुजन्य, उच्च रक्तचाप जस्ता नसर्ने रोग बढीमात्र देखिएको डा.बरालले जानकारी दिनुभयो। 

चिकित्सकका अनुसार फोक्सोमात्रै होइन, घाँटीको क्यान्सर, पेटको क्यान्सर, आन्द्राको क्यान्सर, पाठेघरको मुखको क्यान्सर आदि सबै खालको क्यान्सर सुर्तीजन्य पदार्थको सेवनबाट हुने गर्दछ। 

क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईँ ७० प्रतिशत क्यान्सर मद्यपान, धूमपान, मोटोपना, खानपान, शारीरिक कसरतको कमी जस्ता खराब जीवनशैलीले गर्दा लाग्ने बताउनुहुन्छ। 

मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलका अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट धेरै कम उमेरका युवामा हृदयाघातको समस्या बढ्दै गएको छ। डा.अनिलले हृदयाघात हुनेमा सबैभन्दा बढी सुर्तीजन्य पदार्थ र खराब जीवनशैलीले गर्दा हुने देखिने बताउनुभयो।  

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.मदन प्रियाले फोक्सोको रोग लाग्नुको ८० प्रतिशत कारक तत्त्व सुर्तीजन्य पदार्थ भएको जिकिर गर्नुभयो।  मुख क्यान्सर रोग विशेषज्ञ डा. सुदिप आचार्यका अनुसार मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशतभन्दा बढी बिरामीले सुर्तीजन्य पदार्थको सेवन गरेको देखिन्छ। सुर्ती र पान दुवै खानेमा मुखको क्यान्सर २० देखि ३० गुणा बढी देखिने चिकित्सक बताउँछन्।

सुर्तीजन्य पदार्थमा हुन्छ क्यान्सर बनाउने रसायन

चुरोट, खैनी, गुड्खा, पानपराग, बिँडी लगायतका सबै खालका सुर्तीजन्य पदार्थ हाम्रो शरीरको लागि सबैभन्दा बढी हानिकारक पदार्थ क्यान्सर रोग विशेषज्ञ चापागाईँ बताउनुहुन्छ। उहाँका अनुसार सुर्तीजन्य पदार्थमा घरको सरसफाइ जस्तै ट्वाइलेट, टायल, बेसिन इत्यादि सफा गर्दा प्रयोग गरिने रसायनमा पाइने तत्त्व, मुसा मार्ने औषधिमा प्रयोग हुने तत्त्व, ब्याट्रीमा प्रयोग हुने एसिडमा पाइने प्रमुख तत्त्व, सवारी साधनबाट निस्कने धुवाँमा पाइने तत्त्व , निकोटिन, सडक कालोपत्र गर्दा प्रयोग गरिने कालो र टाँसिने तत्त्व, रबर, सिमेन्ट र पेट्रोलमा पाइन्छ, नेल पोलिस हटाउन प्रयोग गरिने केमिकलमा पाइने तत्त्व, कपाल रँगाउन प्रयोग हुने केमिकलमा पाइने एक तत्त्वहरू पाइन्छ। 

सुर्तीजन्य पदार्थले क्यान्सर बनाउने हजारौँ रसायन तत्त्व हुने  भएकाले क्यान्सर हुने सम्भावना बढी हुन्छ। रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी हुने चिकित्सक बताउँछन्।

कर बढाउन आग्रह 

सुर्तीजन्य पदार्थको प्रयोग घटाउनका लागि कडा कदम नचालेसम्म सुर्तीजन्य पदार्थको कारण मृत्युको सङ्ख्या बढ्दै जाने विज्ञको तर्क छ। सुर्तीजन्य पदार्थमा लाग्ने करको वृद्धिले धूमपानको उपभोग दर घटाउन र नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने नकारात्मक स्वास्थ्य प्रभावको चिन्ताजनक मार्ग परिवर्तन गर्न मद्दत पुग्ने विज्ञको तर्क छ। 

विश्व स्वास्थ्य सङ्घको सिफारिस अनुसार चुरोटको खुद्रा मूल्यमा कर ७५ प्रतिशतभन्दा माथि हुनुपर्दछ। तर, नेपालमा  दक्षिण एसियाका अन्य राष्ट्रका लाग्ने करको दरभन्दा कम छ। नेपालमा ४० प्रतिशत भन्दा कम कर निर्धारण गरिएको छ।

कार्यान्वयन हुन नसकेको ऐन

कानुनत सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइँदैन। तर, राज्यको कमजोर उपस्थितिले यो सवाल कार्यान्वयन हुन सकेको छैन। शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, वृद्धाश्रम आदि स्थानबाट कम्तीमा १०० मिटर भित्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइँदैन। 

त्यसैगरी, फुटकर रूपमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने, १८ वर्ष नपुगेका र गर्भवतीलाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने, सुर्तीजन्य पदार्थको बट्टामा कम्तीमा ९० प्रतिशत चेतावनीमूलक सन्देश तथा घातक रङ्गिन चित्र छाप्नुपर्ने व्यवस्था छ। तर, नेपालमा यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन। 

नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन, निर्देशिका, नियमावली कानुन भए पनि यसको कार्यान्वयन हुन नसकेकोले सुर्तीजन्य प्रदार्थको प्रयोग बढ्दै गइरहेको छ । 

Souce:-https://gorkhapatraonline.com/news/40106