नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ। सोमबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले उक्त बीमा सम्झौतामा हस्ताक्षर गरेका छन्।
यसअघि अघिल्लो वर्ष पनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो। यसवर्ष भने जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए।
उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्ने गरी सम्झौता भएको हो। जसमध्ये एक लाख ३६ हजार रूपैँया रकम प्रेस युनियन सुनसरीले व्यहोर्ने र बाँकी रकम इन्स्योरेन्स कम्पनीले व्यहोर्ने गरी सम्झौता भएको उनले बताए ।
‘बिमित सञ्चारकर्मीको दुर्घटनामा मृत्यु भएमा सात लाख रूपैँया पाउनेछन् भने घाइते भएमा अधिकतम् एक लाखसम्म पाउने गरी सम्झौता भएको छ’, अधिकारीले भने– ‘दुर्घटनामा अङ्गभङ्ग भए वा कामै गर्न नसकेको अवस्थामा पनि कम्पनीको पोलिसी अनुसार रकम पाइन्छ र सम्झौता एक वर्षसम्मका लागि कायम रहनेछ।’