राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) दुर्घटनाको विषयलाई गाडीमा मात्रै सीमित नगरी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर हेर्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बमले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ खानीखोलामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सुरज भट्टराई, नरबहादुर सिंह ठकुरी, भुनेश्वर साह कानु र सरफरोस मियाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
उनले सवारी चालकमा देखिएको लापरबाही, कम उमेर तथा अनुभवको कमी र सार्वजनिक सवारी चालकको अनुमतिपत्र ९लाइसेन्स० वितरण प्रक्रिया पर्याप्त वैज्ञानिक तथा कडा भए–नभएको विषयमा प्रश्न उठाए।
बमले दुर्घटनामा परेको ईभीका चालकको उमेर २० वर्ष रहेको उल्लेख गर्दै दुर्घटनापछि गाडीलाई मात्रै दोष दिनुभन्दा चालकको सीप, अनुभव, लाइसेन्स प्रणाली र नियमन पक्षलाई समेत अध्ययन गर्नुपर्ने बताए।
उनका अनुसार ईभी प्रविधि अन्य सवारीसाधनभन्दा फरक भएकाले यसको सुरक्षित प्रयोगबारे नागरिकलाई आवश्यक जानकारी दिनुपर्ने आवश्यकता छ। ब्याट्रीको अवस्था पहिचान गर्ने, चार्जिङका क्रममा अपनाउनुपर्ने सावधानी, दुर्घटना हुँदा गर्नुपर्ने काम र आगलागी भएमा सुरक्षित रूपमा बाहिरिने उपायबारे सरकारले व्यवस्थित रूपमा जानकारी दिनुपर्ने उनले बताए।
बमले यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, सवारी उत्पादक कम्पनी तथा प्राविधिक विज्ञलाई समेटेर सरल नेपाली भाषामा ईभी सुरक्षा निर्देशिका तयार गर्नुपर्नेमा जोड दिए। साथै, ड्राइभिङ लाइसेन्ससम्बन्धी प्रशिक्षणमा ईभी सुरक्षासम्बन्धी छुट्टै मोड्युल समावेश गर्न र चार्जिङ स्टेसनमा अनिवार्य सुरक्षा सूचना राख्नुपर्ने उनको भनाइ थियो।
उनले लाइसेन्स वितरण तथा चालकको दक्षता परीक्षणलाई थप कडाइ गर्नुपर्ने बताउँदै सार्वजनिक सवारी चालकका लागि उमेरसँगै अनुभव, तालिम र नियमित दक्षता परीक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
‘प्रविधि भित्र्याउने मात्र होइन, प्रविधि प्रयोग गर्ने नागरिक र चालकलाई शिक्षित बनाउने जिम्मेवारी पनि राज्यको हो,’ उनले भने।
सांसद बमले सडक दुर्घटनाबाट घाइते हुनेहरूको तत्काल उपचारका लागि ट्रमा सेन्टर विस्तार गर्न पनि सरकारसँग आग्रह गरे। उनले नेपालमा सडक दुर्घटनाबाट दैनिक औसत सात जनाको मृत्यु हुने गरेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि शून्य मृत्युको लक्ष्यसहित काम गर्नुपर्ने बताए।












