परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सर्बियाको राजधानी बेलग्रेड जाने भएका छन्। असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन उनी त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
सर्बियाको राजधानी बेलग्रेडमा यही भदौ १५ र १६ गते उच्चस्तरीय स्मरणसभाको आयोजना हुँदैछ। सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो। ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो। कार्यक्रममा विश्वका नेता, प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिको सहभागिता रहनेछ।
नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधार स्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अङ्गीकार गर्दै आएको छ। असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई संविधानले प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ। नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रिस्तरीय बैठक तथा अन्य बैठकमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ।
उनी भदौ १७ गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।












