नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ। सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न खुला गरिएको हो।
सुरुङमार्गबाट कार, जीप, भ्यानलगायत ९ सिटसम्मका निजी सवारीसाधनले काठमाडौँ–धादिङ आउजाउ गर्न सक्नेछन्। यसअघि इमर्जेन्सी सवारी, एम्बुलेन्स तथा सरकारी नम्बर प्लेटका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइँदै आएको थियो।
सडक विभागका अनुसार सोमबारदेखि यी सवारीसाधनसँगै ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग हुँदै आवागमन गर्न अनुमति दिइएको हो।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौँबाट धादिङतर्फ तथा धादिङबाट काठमाडौँतर्फ जाने सवारीसाधनले नागढुंगाको उकालो सडकको विकल्पका रूपमा सुरुङमार्ग प्रयोग गर्न सक्ने भएका छन्।












