राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले बलात्कारपछि हत्या भएकी ३ वर्षीया बालिकाका आमा-बुबाको गृह मन्त्रालयमा भिडियो खिचिएकोप्रति आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले वार्ताका क्रममा गृह मन्त्रालयमा उनका आमा-बुवाको भिडियो खिचिएकोमा आपत्ति जनाउँदै यस्तो कार्य बन्द गरिनुपर्ने बताएका हुन्।
‘बालिका हत्याकाण्डको बारेमा जे भयो त्यसका बारेमा धेरै बोलिन। तर हामी सबै जनाले मनन गर्नुपर्ने के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं ?,’ उनले भने, ‘जहाँ मृतकको बुवा-आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ। कहीँ मेडिकल गर्दै गर्दा एउटा आरोपितले बोलेको कुरालाई पब्लिकमा राखिन्छ। यस्तो कार्य बन्द गरिनुपर्छ।’
यस्तै, नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि अनुसन्धानमा रहेका अभियुक्तको भिडियो खिचिएको बारे छानबिनको माग गरिन्। ‘अनुसन्धानमा रहेको अभियुक्तको भिडियो कसले खिच्यो, कसले बाहिर ल्यायो ? छानबिन हुनुपर्छ,’ खातुनले भनिन्।












