उदयपुरको बेलका नगरपालिका-५ जहडामा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५-००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस सोमबार बिहान करिब ९ः४५ बजे एक आपसमा ठोक्किएका थिए।
दुर्घटनामा परेर अटोमा सवार पाँचै जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका चिकित्सकले मध्याह्न ११ः४५ बजे बेलका नगरपालिका-५ बस्ने ३४ वर्षीया मन्दिरा मगर र नाम, थर, वतन नखुलेकी अर्की एक महिलालाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा अटो चालक बेलका-५ का २८ वर्षीय इन्द्र थापा र सोही ठाउँका १८ वर्षीय रोशन मगर गम्भीर घाइते छन्। यस्तै, मोरङ विराटनगर महानगरपालिका-१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम छ। तीनै जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न बस र चालक बेलका-५ का ३६ वर्षीय बिक्रम थापालाई नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












