श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गरेकी छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रम्तेलले बलात्कारपछि ज्यान गुमाएकी बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरिन्।
उनले गरिमा चौधरीको हत्याको घटनाले सदनको गम्भीर ध्यानाकर्षण गराएको बताउँदै यस्ता जघन्य अपराधमा दोषी ठहर हुने व्यक्तिलाई मृत्युदण्डबाहेक संविधानसम्मत सबैभन्दा कठोर सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन्।
संविधानले मृत्युदण्ड निषेध गरेको उल्लेख गर्दै उनले दोषीलाई जीवनभर कारागारमा राख्ने, सजायमा अनावश्यक छुट नदिने तथा राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाउने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।
‘कानुन यस्तो कठोर होस् कि अपराध गर्नुअघि अपराधीले पटकपटक होइन, लाखौं पटक सोचोस्,’ उनले भनिन्।
सांसद रम्तेलले आफूहरूले बदला नभई न्याय मागिरहेको स्पष्ट पारिन्। संविधानको मर्म र मानवअधिकारको सम्मान गर्दै संविधानभित्रै रहेर अपराधीलाई कठोर कानुनी परिणाम भोगाउनुपर्ने उनको भनाइ थियो।
उनले गरिमाको न्याय, बालिकाको सुरक्षा र अपराधीमाथि कठोर कानुनी कारबाहीका लागि सरकार गम्भीर बन्नुपर्ने बताइन्। साथै, यस विषयमा सरकारले स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने माग गरिन्।












