नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारका गलत, लोकतन्त्र विरोधी र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महरले सरकारका राम्रा कामको सदैव समर्थन गर्ने भन्दै गलत, लोकतन्त्र विरोधी, र संविधान विपरीतका कामको विरोध गर्दा ज्यान मार्नेसम्मको धम्की आउने गरेको बताएका हुन्।
उनले पछिल्लो समय आफू स्वयम् पनि यसको सिकार भएको र विदेशबाट समेत ह्वाट्सएप र म्यासेन्जरमा मार्ने धम्कीहरू आइरहेको बताए। महरले सरकारले आफ्ना १०० दिनका उपलब्धिमा ’सुशासन कायम गरेको’ दाबी गरे पनि व्यावहारिक रूपमा त्यस्तो नदेखिएको तर्क गरे।
उनले प्रदेशहरूमा नयाँ परिस्थिति र राजनीतिक शून्यताको अवस्था देखिएको भन्दै एमाले, कांग्रेस लगायतका कम्युनिष्ट पार्टीका नेतृत्वहरूले छिटोभन्दा छिटो छलफल गरेर उचित निकास निकाल्नुपर्नेमा जोड दिए।
महरले विशेष गरी सुदूरपश्चिम प्रदेशमा जनताका मुद्दामा केन्द्रित हुनुभन्दा आफ्ना व्यक्तिगत विषयलाई प्राथमिकता दिएका समस्या उत्पन्न भएको बताए।




















