फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई पराजित गरेलगत्तै अर्जेन्टिनी टोली नयाँ विवादमा तानिएको छ। ऐतिहासिक जितको खुसीयाली मनाउने क्रममा अर्जेन्टिनाका खेलाडीहरूले मैदानमा प्रदर्शन गरेको एउटा ब्यानरलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना बढेको छ।

खेल सकिएपछि अर्जेन्टिनी खेलाडीहरूले मैदानमा प्रदर्शन गरेको ब्यानरमा लेखिएको थियो, 'माल्भिनास (जसलाई फकल्याण्ड टापु भनिन्छ), त्यो अर्जेन्टिनाको हो।' यसलाई फिफाले खेल मैदानभित्र कडा रूपमा प्रतिबन्ध लगाएको राजनीतिक अभिव्यक्तिका रूपमा लिएको छ।

दक्षिण एटलान्टिक महासागरमा अवस्थित फकल्याण्ड टापु समूह हाल बेलायत (ब्रिटेन) को नियन्त्रणमा रहेको छ। तर, अर्जेन्टिनाले भने यो टापुमाथि आफ्नो दाबी प्रस्तुत गर्दै यसलाई 'माल्भिनास'को नामले सम्बोधन गर्दै आएको छ। यही क्षेत्रीय विवादलाई लिएर सन् १९८२ मा यी दुई देशबिच युद्धसमेत भएको थियो।

फिफा र इन्टरनेशनल फुटबल एसोसिएसन बोर्डको नियमअनुसार खेल मैदान वा खेलाडीको पोशाक आदिमा कुनै पनि प्रकारको राजनीतिक नारा, वक्तव्य वा राजनीतिक प्रतीकहरूको प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

इंग्ल्याण्डविरुद्धको संवेदनशील खेलपछि अर्जेन्टिनी खेलाडीहरूले सोही देशलाई लक्षित गर्दै ऐतिहासिक र राजनीतिक विवादित ब्यानर देखाएका कारण फिफाले अर्जेन्टिनी फुटबल संघमाथि कडा अनुशासनात्मक कारबाही वा ठुलो रकम जरिवाना तिराउन सक्ने आँकलन खेल विश्लेषकहरूले गरेका छन् ।