ईरान राई

आजभन्दा करिब तीन लाख वर्षअघि मानिसहरुको उत्पत्ति अफ्रिका महादेशमा भएको मानिन्छ । त्यहाँबाट बसाइँ सर्दै मानिसहरु अहिले संसारको कुना–काप्चासम्म पुगेको हो । आजको आधुनिक मानिसहरुचाहिँ करिब दश हजार वर्षअगाडि मात्र भएको मानिन्छ । आधुनिकता भनेको के हो ? परम्परा भनेको के हो ? यी दुवैको संयोजन हुनु किन आवश्यक छ ? कसरी गर्न सकिन्छ ? आज मानव–प्रजाति नै सङ्कटमा परेको बेला हामी मानिसहरुले नै कतिपय सवालहरु बेलैमा बृहत् छलफल गरी निक्र्यौलमा पुगेर सङ्कटमोचनमा गम्भीर भएर लाग्नुपर्ने अपरिहार्य अवस्था सिर्जना भएको छ । 

 यो लेखमा केवल सचेतनाका लागि उल्लेखित कुरा उठाएको हुँ । हामी मानिसहरुले आफ्ना धेरै चाहना र देखासिकीका बानीहरु त्याग्नुपर्ने एवं छाडिएका कतिपय संस्कार–संस्कृतिहरु केही परिमार्जनसहित अनिवार्य अपनाउनुपर्ने देखिन्छ । यही कुरालाई मध्यनजर गरेर बेलबारी नगरपालिकाले नेपालका १४२ जातिमध्ये धिमाल समुदायलाई आदिकालदेखि बसोबास गर्ने जाति÷समुदाय भएको हुनाले बेलबारी नगरपालिकाभित्र बसोबास गर्नेहरुमध्ये प्रथम जाति (समुदाय) स्वीकार गरेर प्रमाणपत्र पनि दिएको छ । यो समुदायलाई प्रथम समुदाय हो भनेर दमक नगरपालिका, उर्लाबारी नगरपालिका र पथरीशनिश्चरे नगरपालिकाले औपचारिक रुपमा स्वीकार गरेको छ । धिमाल समुदाय मोरङ र झापा जिल्लाका एउटा जेठो आदिवासी हुन् । यो समुदायले आफ्नो उत्पत्ति स्थल मोरङको लेटाङ नगरपालिका वडा नं. १ मा रहेको राजारानी पोखरीलाई केन्द्रभाग बनाएको क्षेत्रलाई मान्दछ । आफ्नो धर्मलाई ‘प्रकृति’ धर्म भन्ने धिमाल समुदायको प्रमुख पर्व जातिरी राजारानी पोखरीस्थलबाट वैशाख २ गते सुरू गर्दछन् । त्यहाँपछि हरेक गाउँको आआफ्नै पूजास्थल महाराजथान हुन्छ, त्यहाँ त्यहाँ गरेर मैझारोचाहिँ उर्लाबारी नगरपालिकाको मङ्गलबारेमा असार २ गते गर्दछन् । यसरी धिमाल समुदायको जातिरी पर्व दुई महिनाको भएको पाइन्छ । 

  बेलबारी नगरपालिकाभित्र १५ गाउँ छन् धिमालहरुको । पन्ध्रओटा गाउँ छन् भन्नुको अर्थ पन्ध्रओटै महाराजथानहरु छन् । बेलबारी नगरभित्रका १५ गाउँका धिमालहरुको नगर स्तरीय जातिरी पर्वचाहिँ जेठ ३० गते बेलबारी वडा नं. ३ स्थित टुक्रेमा गर्ने परम्परा बसाइएको छ । 

  १२औँ राष्ट्रिय जनगणना २०७८ अनुसार धिमालहरुको जनसङ्ख्या २५ हजार छ सय ४३ रहेको तथ्याङ्क भए तापनि बढ्दो जनसङ्ख्याका कारण हाल करिब ३३ हजार पुगेको अनुमान गरिएको छ । बेलबारी नगरपालिकाभित्र धिमालहरुको जनसङ्ख्या २०६८ को जनगणनाअनुसार तीन हजार दुई ३० देखिन्छ भने हाल तीन हजार ७ सय ६ रहेको छ । 

  बेलबारी नगरभित्रको १५ गाउँहरुमध्ये सबैभन्दा बढी घरपरिवार एकत्रित रुपमा बसोबास भएको गाउँ बेलबारी नगरपालिकाको वडा नं. १० मा पर्ने माटिगाउँ हो जहाँ करिब एक सय ५० भन्दा बढी घरपरिवारको एकत्रित बसोबास रहेको छ । यो बेलबारी नगरभित्रको सबैभन्दा ठुलो धिमाल–बस्ती हो । यही माटिगाउँमा समुदायमा आधारित ‘धिमाल होम स्टे’ सुरू भएको छ । यो होम स्टे बेलबारी नगरकै पहिलो होम स्टे हो । अहिलेलाई यहाँ पाँचओटा घरमा होम स्टे सुविधा रहेको छ । यसका अध्यक्ष तथा एक सञ्चालक जोगेन्द्र धिमाल भन्नुहुन्छ – “हामीकहाँ आउने पाहुनाहरुलाई हाम्रो रैथाने उत्पादनका मौलिक खाना परिकारहरु, आरामदायी र सुरक्षित बास, भाषा–संस्कृतिबारे जानकारी प्रदान गर्नेछौँ ।

  यहाँ होम स्टे मात्र होइन, यो स्थानलाई बेलबारी नगरपालिकाले ‘जीवित सङ्ग्रहालय’ ९ीष्खभ ःगकभगm०को रुपमा घोषणा गरेर धेरै क्षेत्रमा काम पनि अगाडि बढाएको छ । यस जीवित सङ्ग्रहालयका अग्रणी व्यक्तित्व तथा बेलबारी नगरप्रमुख दिलप्रसाद राई भन्नुहुन्छ –अल्पसङ्ख्यक जातिहरुको भाषा, धर्म, संस्कृतिको दिगो रुपमा संरक्षण, धिमाल जाति मोरङमा छ भनेर विश्वव्यापी प्रचारप्रसार, पहिचान सुरक्षा गर्नु, संस्कृतिभित्रको सबै कुरासहित आर्थिक, सामाजिक उत्थान गर्नु जीवित सङ्ग्रहालयको अवधारणा तयार पारिएको हो । जीवित सङ्ग्रहालय भनेको त्यस समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, विशेष खाद्य–उत्पादन, चलनचल्ती प्रत्यक्ष रुपमा देखिनुपाइने खुल्ला गाउँ हो ।

  जीवित सङ्ग्राहालयमा धिमाल जाति मात्र भएको माटिगाउँमा उनीहरुको उत्पादनदेखि वास्तु–वस्तुको उत्पादन, संरक्षण र प्रवर्धन गरिने कार्य नै हो । भाषा, संस्कृति प्रत्यक्ष रुपमा देखाउने र उनीहरुको क्षमतावृद्धि राष्ट्रिय स्तरमा गरेर संसारका सबै सक्षम मान्छे जतिकै धिमाल समुदायका हरेक व्यक्तिलाई सक्षम बनाउनुपर्दछ ।

  यो जीवित सङ्ग्रहालय र होम स्टेलाई धिमालहरुको मातृसङ्गठन धिमाल जाति विकास केन्द्र र धिमाल प्रथम जाति व्यवस्थापन समितिले महङ्खवपूर्ण सहयोग र सहकार्य गर्दै आएका छन् । यससम्बन्धि धिमाल जाति विकास केन्द्र, बेलबारी नगर अध्यक्ष शिवनाथ धिमाल भन्नुहुन्छ – “हामी धिमाल समुदायको भाषिक, धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्धन गर्नका लागि होम स्टेसहित स्थापना गरिएको जीवित सङ्ग्रहालय भएकोले हामी सम्पूर्ण धिमालहरु खुसी छौँ । होम स्टे र जीवित सङ्ग्रहालय व्यवस्थित रुपमा सञ्चालन गर्न÷गराउन केही चुनौतीहरु पनि छन् । तर ती चुनौतीहरुलाई अवसरका रुपमा उपयोग गर्न तीनै तहका सरकारहरु, स्थानीय राजनैतिक दलहरु, अन्य समुदायहरु, स्थानीयबासीहरु र स्वयं हामी धिमालहरु पनि तयार रहनुपर्दछ, र हामी त तयारै छौँ ।” 

  धिमाल प्रथम जाति व्यवस्थापन समिति, बेलबारी नगर समितिकी अध्यक्ष रूकमिणी धिमाल भन्नुहुन्छ – “सुरूदेखि नै समर्थन, सहयोग र सहकार्य गर्दै आएका छौँ, यसमा निरन्तरता हुनेछ । डी.पी.आर. बनाइएको छ, तर त्यहाँचाहिँ धिमालहरुको मौलिक परम्परा झल्किने केही घरहरु बनाउनुपर्दछ । पश्चिमतिर नलबारी र पूर्वतर्फ अनामचोकमा सूचनापाटी र प्रवेशद्वार आवश्यक छ । सम्पूर्ण सामान र संस्कृति सजाउने र संस्कृति झल्काउने सङ्ग्रहालय पनि आवश्यक छ ।” 

  बेलबारीका बौद्धिक तथा धिमाल समुदायका अगुवा युवानेता अजितकुमार धिमाल भन्नुहुन्छ – “धिमाल जीवित सङ्ग्रहालय र होम स्टेले हाम्रो मातृभाषा, संस्कृति र मौलिक खानपानको संरक्षण त गर्छ नै गर्छ, यिनले त्यस क्षेत्रको आर्थिक उन्न्ति र समग्र बेलबारीकै पर्यटनलाई पनि टेवा पु¥याउनेछ । एउटा चुनौतीचाहिँ छ, विदेशी पर्यटकहरुलाई ल्याउँदा हाम्रो मौलिक संस्कृतिमाथि नजाििनँदो किसिमले अतिक्रमण हुन सक्छ ।” 

  जीवित सङ्ग्रहालय र धिमाल होम स्टेका बारेमा प्रारम्भदेखि नै सुझाव, सहयोग र सहकार्य गर्नुहुने पर्यटन अभियन्ता तथा विज्ञ डा. आलोक प्रसाईँ भन्नुहुन्छ – “समुदायको कला–संस्कृति, आतिथ्य सत्कार र रैथाने खानेकुराहरु मौलिक छन् । यो जाति सबै जिल्लामा छैनन् । आफैँमा रमाउने, झैझगडा नगर्ने शान्त र मिजासिलो स्वभाव, मिलोमतो र एकता भएको हुनाले यहाँ भ्रमण गर्नुपर्दछ । नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र गाउँ पर्यटन प्रवर्धन मञ्चले देशभरिबाट वर्षमा तीनओटा गाउँ छानेर हरेक वर्ष २७ सेप्टेम्बरमा ती उत्कृष्ट गन्तव्य गाउँहरुको घोषणा गरिन्छ । अहिलेसम्म कोसी प्रदेशबाट दुईसहित जम्मा ३२ ओटा उत्कृष्ट गन्तव्य गाउँहरुको घोषणा गरिएका छन् । ती दुईमध्ये एक सङ्खुवासभाको सभापोखरी सामुदायिक होम स्टे हो भने दोस्रो यही जीवित सङ्ग्रहालय तथा धिमाल होम स्टे हो ।” 

  यहाँ ‘घुमन्ते’ च्यानल तथा भ्लगका कञ्चन राईको कुरा सापट लिन चाहन्छु । कुनै पोडकास्टमा उहाँले भन्नुभएको छ कि भ्लगरहरुको बिचमा फलफल भयो सातै प्रदेशमा एउटा एउटा टोली जाने । सबैले अरु प्रदेशहरु रोजे तर मधेस प्रदेश कसैले रोजेनन् । त्यो छाडेको प्रदेश बञ्चन राईले लिनुभएछ । मधेस प्रदेश घुमिसकेपछि उहाँको निष्कर्ष बन्यो – मधेस प्रदेशमा हेर्नेलाई जाने होइन, त्यहाँको खाना, भाषा, कला, संस्कार, संस्कृति आदि अनुभूति गर्न जाने हो । वास्तवमा धिमाल जीवित सङ्ग्रहालय तथा होम स्टे, माटिगाउँ, बेलबारीमा रैथाने परिकार, मौलिक संस्कार–संस्कृतिको साथसाथ धिमाल समुदायको आत्मीयता र सरलताको अनुभूति गर्न भ्रमण गर्नुपर्दछ ।  

  त्यहाँ आउनुहुने पाहुनाहरुले होम स्टेमा बसाइको सुविधा, खाना, स्वागत र बिदाइको खुलेर प्रशंसा गरेका छन् । यो सुरूआतको पनि प्रथम विन्दुमै भएकोले सबैतिरबाट यसलाई धेरै सकारात्मक रुपमा लिएको पाइन्छ । 

  यसमा सुधार तथा थप गर्नुपर्ने केही सुझावहरु ः 

(१) सूचनापार्टी र सूचनाकेन्द्रको व्यवस्थापन ।

(२) माटिगाउँलाई नै सकेसम्म, नत्र पनि होम स्टे क्षेत्रको सांस्कृतिक र प्राकृतिक रुपबाट सौन्दर्यीकरण ।

(३) धिमाल भाषा पठनपाठनका लागि विशेष विद्यालय (यो होम स्टेलाई पनि उपयोगी छ । अझ जीवित सङ्ग्रहालय नै भएको हुनाले त्यहाँ आउने पाहुनाहरु चाहे आन्तरिक हुन् वा बाह्य, सबैले मातृभाषा नै बोलेको सुन्नुपर्ने हुन्छ । नेपाली, अङ्ग्रेजी, हिन्दीलगायतका भाषा पनि जान्नुपर्छ तर धिमालहरुको जीवित सङ्ग्रहालय क्षेत्रमा धिमाल मातृभाषा अनिवार्य बोलिनुपर्छ≤ त्यो पनि करले होइन, इच्छाले ।)

(४) महाराजथानलाई सफा राख्ने, सुन्दर बनाउने र एउटा धिमालहरुको सार्वजनिक र सामूहिक पूजास्थल कस्तो हुन्छ भन्ने नमुनाका रुपमा सजाउने, संरक्षित गर्ने र सञ्चालन गर्नुपर्दछ । 

(५) गाउँबुढालाई एउटा परम्परागत रुपमा निर्मित घर र परिवेशमा राखिनुपर्छ ता कि पाहुना आउँदा आगन्तुकहरुले गाउँबुढालाई भेट्न जाऊन् । गाउँबुढा आफ्नो सांस्कृतिक पहिरनमा सजिएको हुनुपर्दछ । आगन्तुकहरु आउँदा कस्ता कस्ता पाहुनाहरु आएछन् भनेर गाउँबुढाले खोजिहिँड्ने होइन≤ गाउँबुढाचाहिँ कस्ता छन्, कति उमेरका छन्, के गर्दै होलान् लगायतका उत्सुकताको भोक जगाएर आफ्नै निश्चित स्थानमा बस्नु उपयुक्त हुन्छ । गाउँबुढालाई, गाउँबुढाकी जीवनसँगिनीलाई धिमालको मौलिक घरदलानमा भेटेर जोकोही पनि हर्षित होऊन् । गाउँबुढाले धेरै नबोल्ने, आवश्यक र वजनदार कुराहरु मात्र बोल्नु उपयुक्त हुन्छ । 

(६) होम स्टेका साथ साथ धिमाल समुदायको मौलिक खाद्य–परिकार, गहना, पोशाक, हस्तकला र घरेलु भाँडाकुँडाहरु पनि खरिद गर्न चाहनेका लागि उपलब्ध गराउनु उत्तम हुनेछ । 

(७) त्यहाँ आउने पाहुनाहरुले चाहेमा उत्पत्तिस्थल राजारानी पोखरी, जातिरीको समापन गरिने केन्द्रीय कार्यालय भएको स्थान मङ्गलबारेलगायत नजिकका धिमालबस्ती, महाराजथानहरु अवलोकन भ्रमण गराउने व्यवस्था मिलाउनुपर्दछ । 

(८) त्यहाँ आउने पाहुनाहरुले चाहेमा धिमालहरुसँग सम्बन्धित मात्र होइन, बेलबारीको धनपालगढी, बेतना सिमसार, सिसौली सिमसार, रमिते डाँडा र सृजना पार्क, देवीथान पार्क, बेलबारी बहुमुखी क्याम्पसलगायतका विशेष र विशिष्ट स्थानहरु एवं आसपासका कानेपोखरी सिमसार, भुल्के सिमसार, बासुकी सिमसारलगायत लेटाङ, केराबारीका पनि विशेष र विशिष्ट स्थलहरुको अवलोकन भ्रमण गराउने व्यवस्था मिलाउनुपर्दछ ता कि धिमाल समुदायबाट पर्यटन–पथप्रदर्शकहरु पनि बन्न सकून् । 

(९) त्यहाँ आउने पाहुनाहरुलाई साङ्गीतिक÷सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गर्नु÷गराउनुपर्छ । त्यसर्थ, त्यसका लागि धिमाल भाषामा प्रशस्त गीत, कविता, गजलहरु लेखिनुपर्छ । सुरू सुरूमा अन्य भाषाका रचनाहरुलाई अनुवाद गरेर पनि अघि बढ्न सकिन्छ ।  

(१०) यो ठाउँको चाहिँदो मात्राको, वास्तविक अवस्थालाई व्यवस्थित र तीव्र प्रचारप्रसार गर्नु÷गराउनुपर्दछ ।

(११) यो जीवित सङ्ग्रहालय र होम स्टेले त्यस ठाउँको धिमाल परिवारको मात्रै होइन, समग्र बेलबारीको पर्यटन विकास र आय आर्जन गर्न÷गराउन मद्धत पुग्ने विश्वासका साथ बेलबारी र मोरङबाहिरका मात्र त्यहाँ पाहुना बन्ने होइन≤ बेलबारीबासीहरुले सबैभन्दा सुरूमा त्यो होम स्टेहरुमा गाँस–बास गर्नुपर्छ । त्यसपछि मोरङबासी, कोसी प्रदेशबासी, अनि देशबासी, अनि मात्र बाह्य विदेशी पर्यटकहरु आउने वातावरण बन्दछ । त्यसर्थ आरम्भ हामीबाट गर्नुपर्छ ।   

  आधुनिकताका नाममा, आयवृद्धिका नाममा र शैक्षिक प्रगतिका नाममा कुनै पनि समुदायको आफ्नो मौलिकता, परम्परा र संस्कृति विलिन हुन दिनु हुन्न । त्यसमाथि अल्पसङ्ख्यक धिमालहरुको त संस्कृति, भाषा, धर्म नष्ट हुनु भनेको, मानवरुपी एउटा सिक्रीको एउटा जडान–सिक्री चुटिनु जस्तै हो । 

  समग्रमा, बेलबारी नगरपालिकाले विशेष जोडबल गरेको कृषि र स्वास्थ्य क्षेत्रमा हो । त्योभन्दा माथि शिक्षामा लगानी गरिरहेको पाइन्छ । प्रकृति र संस्कृतिलाई समायोजन गरी पर्यापर्यटनका लागि बेतना सिमसारमा कोसी प्रदेश सरकारसँगको सहकार्यमा कछुवा संरक्षण क्षेत्रको निर्माण तथा धिमाल समुदायमा आधारित माटिगाउँको धिमाल जीवित सङ्ग्रहालय तथा होम स्टे नेपालमै सर्वथा नौलो र उदाहरणीय बन्न सक्छ ।