विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले माफी नमागेसम्म संसद अवरोध जारी राख्ने निर्णय गरेको छ।
सोमबार बिहान कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलको बैठकले आइतबार प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिमा माफी माग्नुपर्ने निर्णय गरेको हो।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गर्दै विपक्षी दलहरुले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने अडान लिने निर्णय गरेको जानकारी दिए।
बैठकमा कांग्रेससहित, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपाका नेताहरू सहभागी थिए।
शाहले भारतले नेपाली भूमि मिचेकोमा कूटनीतिक तहबाट वार्ताका माध्यमबाट समाधान खोज्ने तयारी भएको र नेपालले पनि भारतका विभिन्न ठाउँमा भूमि मिचेको बताएपछि त्यसको विरोध भइरहेको छ।
सीमाविद्हरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गलत रहेको र नेपालले भारतको भूमि नमिचेको बताइसकेका छन्।
तर सत्तारुढ दलले भने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर केही बोलेको छ। प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछाने भारत जानुपूर्व सन्ध्यामा अकस्मात संसदमा जवाफ दिने भन्दै विवादस्पद अभिव्यक्ति दिएका छन्।
लामिछाने दिउँसो १ बजे भारत प्रस्थान गरेका छन्।




















