झापाको मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ५५ वर्षीय रुद्र श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सोही स्थानमा सञ्चालित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गरी बस्ने तनहुँ घर भएका ३५ वर्षीय राम बहादुर गौतम रहेका छन्।

प्रहरीका अनुसार आइतबार राति आपसी वादविवाद हुँदा राम बहादुरले रुद्र श्रेष्ठमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिटबाट घाइते भएका श्रेष्ठको मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले आरोपी गौतमलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका गौतममाथि हत्या अभियोगमा कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय र मातहतको टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ।