अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सानो आकारको रहेको र महत्त्वाकांक्षी नभएको दाबी गरेका छन् ।

बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वाञ्छित सीमाभित्र नै बजेट आएको दाबी गरे । बजेटलाई कुल गार्हस्थ उत्पादन अनुपातसँग तुलना गरेर हेर्नुपर्ने उनले बताए।

विगतमा कुल गार्हस्थ उत्पादनका आधारमा ३७ प्रतिशत बराबरसम्मको बजेट आकार आएको उल्लेख गर्दै उनले यो पटक प्रक्षेपित बजेटको २८.५ प्रतिशत हाराहारी मात्रै बजेटको आकार रहेको उल्लेख गरे।

‘अहिले जुन हल्ला फैलिएको छ कि बजेट ठूलो आयो, होइन बजेट सानो हो, प्रक्षेपित जीडीपी ७४ खर्ब ५८ अर्बको सापेक्षतामा २८.५ प्रतिशत बराबर बजेट आएको छ’ उनले भने । भूकम्पपछिका बजेट जीडीको ३० प्रतिशतमाथि आउने गरेकोमा अहिले त्यो ट्रेन्ड भत्काइएको उनले बताए । राज्यको क्षमता अनुकूलतामा बजेट आएको उनको दाबी छ ।

अहिले मुलुकको ऋण आकार जीडीपीको ४३ प्रतिशत हाराहारी रहेको उल्लेख गर्दै उनले यो पटक ४ खर्ब १० अर्ब आन्तरिक ऋण र २ खर्ब ४७ अर्ब वाह्य ऋणको लक्ष्य लिइएको बताए । यो ऋण पहिले लिएको ऋण तिर्नमा समेत खर्च हुने गरेको उनले बताए । हालसम्म ऋणको आकार २९ खर्ब ७५ अर्ब रहेको वाग्लेले जानकारी दिए ।

राजस्व संकलनको लक्ष्य १५ खर्ब ८० अर्ब रहेको उल्लेख गर्दै उनले राजस्वका सवालमा केही महत्त्वाकांक्षी लक्ष्य रहेको स्वीकारे । विगतका वर्षमा ८/९ प्रतिशत हाराहारीका दरले मात्रै राजस्व वृद्धि भइरहेको सन्दर्भमा अहिले २० प्रतिशत वृद्धिको लक्ष्य लिइएको उनले बताए ।