सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिमाथि संसद्मै प्रश्न उठेको छ।
नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतले सीमा विवादबारे प्रधानमन्त्री बालेनको अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले भनेका छन्, ‘मुलुकको राष्ट्रिय अखण्डतामा आँच आउने खालको अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीज्यूले जसरी जिम्मेवार व्यक्ति, जिम्मेवार सदनको रोष्ट्रमबाट व्यक्त गर्नुभएको छ। यो सामान्य विषय छैन।’
प्रधानमन्त्री बालेनले ‘अनौपचारिक कुराकानीमा राखेको विषय जस्तो सम्झिए जस्तो गरी बोलेको हुन सक्ने भन्दै उनले थपे, ‘यो कुरा धेरै नै गम्भीर छ।’
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए।
त्यसक्रममा उनले भनेका थिए, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ।’ सीमा विवादको विषयमा दुईपक्ष बसेर हेर्ने पनि उनको प्रतिवद्धता थियो।
यसमा प्रश्न उठाउँदै सांसद मल्लले भने, ‘के अरु कुनै मुलुकका प्रमुख/राष्ट्र प्रमुखहरूले मञ्चमा बसेर हामीले फलानो देशको भूमि मिचेका छौं भन्छन् होला ? यो कति गम्भीर विषय छ ।’
यसकारण पनि प्रधानमन्त्रीको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने उनको माग छ।
सांसद मल्लले भनेका छन्, ‘यो सम्माननीय प्रधानमन्त्रीको अभिव्यक्तिलाई हामीले संसद्को तर्फबाट करेक्सन गर्नैपर्दछ। र त्यो अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइनुपर्छ।’
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले पनि यो विषयमा प्रश्न उठाइन्।
‘सम्माननीय प्रधानमन्त्रीले ‘नेपालको तर्फबाट पनि भारतको भूमि मिचिएको रहेछ’ भन्नुभयो। यहाँ कहाँ नेर मिचिएको हो यसबारे छिटो भन्दा छिटो अवगत गराइयोस्’ उनले भनेकी छन्, ‘यो गम्भीर विषय हो। प्रधानमन्त्रीले दुई देशको सीमाबारे बोलेको यो सत्य हो भने राखिनपर्यो। यदि यो सही होइन भने रेकर्डबाट हटाइयोस्।’




















