सुन्दरहरैँचा–४ स्थित गोदावरी रिसोर्टमा इन्द्रपुर जेसिज वर्ष २०२६ को दोस्रो सञ्चालक समिति (BOD) बैठक सम्पन्न भएको छ।
बैठकले हालसम्म सम्पन्न भएका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी कार्यक्रम तथा भावी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरेको थियो। संस्थाको प्रभावकारी सञ्चालन, नेतृत्व विकास तथा आगामी गतिविधिहरूलाई थप व्यवस्थित बनाउने विषयमा विभिन्न निर्णयहरू समेत गरिएको छ।
बैठकले इन्द्रपुर जेसिजले सन् २०१२ र २०२२ मा सफलतापूर्वक क्षेत्रीय सम्मेलन आयोजना गरिसकेको अनुभवका आधारमा सन् २०२८ मा नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने लक्ष्यसहित प्रारम्भिक तयारी अगाडि बढाउने निर्णय गरेको छ।
उक्त महाधिवेशन आयोजनाको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि इन्द्रपुर जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी कृष्णप्रसाद ओझाको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकमा संस्थाका पदाधिकारी तथा बोर्ड सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकले इन्द्रपुर जेसिजको संस्थागत विकास र भावी योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सबै सदस्यहरूको सक्रिय सहयोग आवश्यक रहेको निष्कर्ष निकालेको छ।




















