सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो।

बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै बिहीबार सार्वजनिक गरेको सूचनामा यही जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका स्वास्थ्य बीमासम्बन्धी सेवा बन्द हुने उल्लेख छ।

यही जेठ ११ गते बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो। यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुने आशंका छ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ।

सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच भन्ने नारासहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले भने चरम आर्थिक अव्यवस्था, बक्यौता भुक्तानी र प्रशासनिक कमजोरीका कारण धराशायी हुने अवस्थामा पुगेको भन्दै आलोचना बढ्न थालेको छ। वर्षौंदेखि निजी अस्पताललाई दिनुपर्ने अर्बौं रकम भुक्तानी रोकिँदै आएको र त्यसकै दबाबमा अन्ततस् बोर्ड सेवा कटौती गर्न बाध्य भएको स्रोतहरूको भनाइ छ।

बीमा बोर्डका अनुसार अहिलेसम्म सेवाप्रदायक सस्थालाई १६ अर्ब तिर्न बाँकी छ।

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई राजनीतिक प्रचारको साधन बनायो, तर वित्तीय व्यवस्थापन, सेवा गुणस्तर र दिगोपनतर्फ गम्भीर ध्यान दिएन। परिणामस्वरूप अहिले स्वास्थ्य बीमा कार्यक्रमको अस्तित्व नै संकटमा पुगेको छ।

निजी अस्पतालहरूले लामो समयदेखि सरकारले स्वास्थ्य बीमावाफत्को भुक्तानी नगरेको, दाबी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढाएको गुनासो गर्दै आएका थिए । कतिपय अस्पतालले यसअघि नै स्वास्थ्य बीमाका बिरामी नलिने चेतावनी दिएका थिए । अब भने बोर्ड आफैंले सेवा स्थगनको निर्णय गरेपछि बीमा कार्यक्रम व्यवहारतस् संकुचनको चरणमा पुगेको देखिन्छ।