श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्न समेत सभामुखसँग आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिती माग गरिँदै आएको उल्लेख गरे। उनले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गरे।
साम्पाङले सभामुखले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसके नियमावलीको ३१ को १ प्रयोग गरेर आफूलाई बैठकबाट निष्कासन गर्न आदेश दिन आग्रह गरे।
उनले भने, ‘धेरै दिनदेखि हामीले प्रधानमन्त्री ज्युको उपस्थिती माग गर्दै आइरहेका छौं। नियम १५ को २ अनुसार सभामुख ज्युले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भैइरहेको छैन। त्यसो भएको कारणले गर्दाखेरि म आजको सदनमा के माग गर्छु भने यहाँले १५ को २ अनुसार प्रधानमन्त्री ज्युलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नु हुन्न भने नियमावलीको ३१ को १ लागु गरेर मलाई यो सदनबाट निष्कासन गरेर यहाँहरुले यो सदनको गरिमा बढाइदिन म अनुरोध गर्छु।’
सांसद साम्पाङले आफू सभामाझ ‘बदमास विद्यार्थी’ जस्तो देखिन थालेको टिप्पणी गर्दै सदनको गरिमा यसरी कायम हुन नसक्ने बताए। उनले सभामुखको बाध्यता बुझ्ने उल्लेख गर्दै पनि प्रधानमन्त्रीको उपस्थिती आवश्यक रहेको धारणा राखे।
उनले भने, ‘कि त १५ को २ प्रयोग गरेर प्रधानमन्त्री ज्युलाई ल्याउनुपर्यो, कि त ३१ को १ प्रयोग गरेर मलाई आजको बैठकबाट निष्कासन गर्ने आदेश दिनुपर्यो। म आज रिसाउने, कराउने वाला पनि छैन। यहाँको मजबुरी बुझिरहेको छु मैले। यहाँको पनि बाध्यता छ, तर यो सदनको गरिमा यसरी कायम हुन सक्दैन। म अलिकति बदमास विद्यार्थी जस्तो देखा पनि परिरहेको छु संसदमा।’




















