प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (ईयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री बालेनले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्णरूपमा बोध गरिरहेको बताए।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्रीले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट तथा निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारे।
प्रधानमन्त्री बालेनले भने, 'नयाँ हुनुको अर्थ विगतबाट पूर्णरूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्णरूपमा प्रतिबद्ध छौँ। 'नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको उनले बताए।
जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, वृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले बताए।
प्रधानमन्त्री बालेनले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारे। 'हाम्रा छिमेकी, विकास साझेदार र मित्र राष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,' उनले भने।
नेपालको विकास तथा समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर्याउँदै आएको स्पष्ट पार्दै प्रधानमन्त्री बालेनले नेपालका सबै विकास साझेदार र मित्रराष्ट्रहरूप्रति आभार प्रकट गरे।
साथै, उनले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिपरेको स्पष्ट पारे।



















