राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी साधारण सदस्यता खारेज भएको छ। केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले पत्र पठाउँदै उनको सदस्यता खारेज गरेको जानकारी दिएका हुन्।
बाराबाट निर्वाचित चार जना सांसदहरूले स्वर्णकारविरुद्ध अनुशासन आयोगमा उजुरी दिएका थिए। उनीमाथि आर्थिक अनियमितता, पार्टी संगठन परिचालन नगरेको र विपक्षी दलका उम्मेदवारको पक्षमा काम गरेको आरोप छ।
यी आरोपका आधारमा पार्टीले कारबाही गरेको हो। बारा जिल्ला समिति भंग गरी नयाँ समिति गठन गर्न केन्द्रबाट प्रतिनिधि खटाइसकिएको छ।
सदस्यता खारेज भएपछि स्वर्णकारले सामाजिक सञ्जालमा ‘मेरो राजनीतिक हत्या भयो’ भन्दै प्रतिक्रिया दिएका छन्। उनले जेठ ९ गते हुन लागेको बाराको विस्तारित बैठक र अधिवेशनको ठिक अगाडि बिना छानबिन कारबाही गरिएको आरोप लगाएका छन्।
अधिवेशनमा आफू पुनः जिल्ला सभापति चुनिने डरले सांसदहरूको दबाबमा निष्कासन गरिएको उनको दाबी छ।




















