सांसद सन्तोष राजवंशीले सुनसरी–मोरङ सिँचाइ नहरसँग जोडिएको सडकको स्तरोन्नति तथा निर्माण कार्य तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभामा बोल्दै सांसद राजवंशीले ग्रामथान गाउँपालिका र बेलबारी नगरपालिका वडा नम्बर ५ ६ र ७ लाई जोड्ने सिँचाइ नहरको सडकको अवस्था कमजोर रहेको बताए। उक्त सडक दैनिक रूपमा स्थानीय नागरिकले प्रयोग गर्ने भए पनि आवश्यक स्तरोन्नति हुन नसक्दा सर्वसाधारणले सास्ती भोगिरहेको उनको भनाइ थियो।

उनले सडकको दयनीय अवस्थाका कारण साना–ठूला दुर्घटना भइरहने गरेको उल्लेख गर्दै यसले स्थानीय नागरिकको सुरक्षामा समेत चुनौती थपेको बताए।

संसदमार्फत प्रधानमन्त्री र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सांसद राजवंशीले उक्त सडकको निर्माण तथा स्तरोन्नतिको काम अविलम्ब अघि बढाउन माग गरे।

“ग्रामथान गाउँपालिका र बेलबारी नगरपालिका जोड्ने सुनसरी–मोरङ सिँचाइ नहरको सडक अविलम्ब निर्माण गरियोस्,” उनले संसदमा माग राखे।

साथै मोरङ–कटहरी सडकखण्डको निर्माण कार्य तत्काल अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभामा बोल्दै सांसद राजवंशीले मोरङ क्षेत्रका नागरिकले सडकको समस्या लामो समयदेखि भोग्दै आएको उल्लेख गरे। उनले सडकको अवस्था कमजोर हुँदा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा कठिनाइ झेल्नुपरेको बताए।

उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकले पटक–पटक सडक निर्माणको माग गर्दै आएको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए। सडक निर्माण ढिलाइ हुँदा स्थानीय जनताले समस्या झेल्नुपरेको भन्दै उनले यथाशीघ्र निर्माण कार्य सम्पन्न गर्न सरकारसँग आग्रह गरे।