सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा रानामगरले राष्ट्रिय बालअधिकार परिषद् खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमार्फत उनले यस्तो माग गरेकी हुन्।

अघिल्लो सरकारले उक्त निर्णय गरेको भन्ने सुनिन आएको भन्दै सांसद रानाले त्यसमा पुनर्विचार गर्न आवश्यक रहेको बताइन्। उनले बालबालिकाको हकहित र संरक्षणका निम्ति वैकल्पिक व्यवस्था नगरी सरकारले उक्त परिषद् खारेज गरेको भन्दै आक्रोश समेत व्यक्त गरिन्।

“राष्ट्रिय बालअधिकार परिषद् खारेज गर्ने अघिल्लो सरकारको निर्णय भन्ने सुनिन आएको छ,” उनले भनिन्, “बालअधिकार संरक्षण, बालबालिकाको हकअधिकारजस्ता संवेदनशील विषयलाई मध्यनजर गर्दै कुनै पनि स्पष्ट वैकल्पिक संरचना तथा प्रभावकारी व्यवस्था सुनिश्चित नभएसम्म उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”

सांसद रानाले सरकारले बालबालिकाको संरक्षणको विषयलाई गम्भीर रूपले लिएर आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइन्।