सांसद आशिका तामाङले गर्भवती प्रेमिकालाई बिचल्लीमा पारेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीमाथि अनुसन्धान गर्न माग गरेकी छन्।

सामाजिक सञ्जालमार्फत महिला विदेशी होस् चाहे स्वदेशी आखिर यो धर्तीको आमा भएको उल्लेख गर्दै सांसद तामाङले सो विषयमा बाहिर आएका कुराको अनुसन्धान गर्नुपर्ने माग राखेकी हुन्।

‘महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन्। देखेका सबै कुरा सत्य नहुन पनि सक्छन्, तर सत्य जसरी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ,’ तामाङले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘महिलासँग जोडिएको मातृत्वजस्तो संवेदनशील कुरा झन् प्रमाणसहित अनुसन्धान हुन जरुरी छ।’

पार्टीभन्दा ठूलो देश र देशभन्दा पनि ठूलो संसार भएको उल्लेख गर्दै तामाङले कसैलाई पनि अन्याय हुन नहुने बताएकी छन्। मोरङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कृष्णकुमार कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेको छ।