त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३७ वटा राहदानीसहित एक जना व्यक्ति पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंगलबार बिहान नेपाल एयरलाइन्सको उडानमार्फत भारतको नयाँ दिल्ली जान लागेका एक यात्रुलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्ने व्यक्ति सिरहाको धनगढीमाई नगरपालिका-१३ का अजित श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार आवश्यक आधिकारिक अनुमति तथा कागजातबिनै ३७ वटा राहदानी रोमानिया भिसा प्रक्रियाका लागि भारत लैजाने क्रममा उनी पक्राउ परेका हुन्।
उक्त घटनाबारे थप अनुसन्धानका लागि उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पठाइएको प्रहरीले जनाएको छ।




















