प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले कुनै पनि प्रकारको दबाब नदिएको स्पष्टीकरण दिएका छन्। संसदीय सुनुवाइको क्रममा मंगलबार संसदीय समितिमा बोल्दै उनले आफूमाथि लागेको सो आरोपको खण्डन गर्दै यस्तो स्पष्टीकरण दिएका हुन्। 

डा. शर्माले उजुरी वा रिटको प्रकृतिका आधारमा त्यसलाई दर्ता गर्ने वा दरपीठ गर्ने भन्ने निर्णय गर्न सर्वोच्च अदालतको न्याय प्रशासन पूर्ण रूपमा स्वतन्त्र रहेको समेत प्रस्ट पारे। उनले सञ्चारमाध्यममा आफूलाई आरोपित गर्ने गरी नियोजित रूपमा हल्ला फैलाइएको भन्दै त्यस्ता भ्रमपूर्ण कुराहरूमा आफ्नो थप टिप्पणी नरहेको उल्लेख गरे।

आफूविरुद्ध सञ्चारमाध्यममा आएका समाचार र संसद्‌मा उठेका प्रश्नको जवाफ दिँदै डा. शर्माले भने, ‘उजुरी दर्ता गर्ने की दरपिठ गर्ने भन्ने कुरा उजुरीको प्रकृति हेरेर न्याय प्रशासनले गर्ने निर्णय हो। यसमा न्याय प्रशासन स्वतन्त्र छ। मिडियामा मैले आफूविरुद्धको उजुरी दर्ता हुनबाट रोकेको हल्लाहरु आएको छ। यो सबै झुटो हो। यो गलत आरोप हो। यसमा मेरो थप कुनै टिप्पणी छैन।’