राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको बजेट विनियोजन प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री संसदमा अनुपस्थित रहेको विषयमा असन्तुष्टि जनाएका छन्।
प्रतिनिधि सभामा जारी बजेटसम्बन्धी छलफलमा भाग लिँदै उनले बजेट प्रस्तुत तथा विनियोजनसँग प्रत्यक्ष सम्बन्धित मन्त्री उपस्थित नभई प्रक्रिया अघि बढाइएकोप्रति प्रश्न उठाएका हुन्।
सांसद सिंहले आफ्नो लामो संसदीय अनुभवमा पहिलो पटक अर्थमन्त्रीको अनुपस्थितिमै बजेट विनियोजनसम्बन्धी छलफल सञ्चालन भएको देखेको बताए। उनले यसलाई संसदीय अभ्यास र परम्परासँग मेल नखाने विषयका रूपमा व्याख्या गरे।
छलफलका क्रममा सरकारको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनाल उपस्थित रहेको उल्लेख गर्दै उनले बजेट निर्माण र कार्यान्वयनसँग सम्बन्धित जिम्मेवारी अर्थ मन्त्रालयको हुने भएकाले सम्बन्धित मन्त्री स्वयं उपस्थित हुनुपर्ने धारणा राखेका छन्।
उनले संसदीय प्रणालीमा स्थापित अभ्यास र प्रक्रियालाई कमजोर बनाउने ढंगले परम्परा तोडिँदै गए संसद्को प्रभावकारिता नै प्रभावित हुन सक्ने चेतावनी दिए। संविधानले अंगीकार गरेको संसदीय व्यवस्थामा सांसदहरूको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीबाटै आउनुपर्ने उनको भनाइ थियो।
सांसद सिंहले संसद्मा उठाइने विषय जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सरकारको उत्तरदायित्व र उपस्थितिलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याएका छन्।




















