प्रतिनिधि सभाकी सांसद प्रभा ढकालले मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशको स्वास्थ्य क्षेत्रमा बेथिति बढेको भन्दै यस्तो माग गरेकी हुन्। 

यसका साथै सांसद ढकालले सरकारले अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीहरूलाई तत्काल उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने आवश्यकता समेत औँल्याएकी छन्। नेपालको संविधानमा स्पष्ट रूपमा उल्लेख गरिएको स्वास्थ्य सम्बन्धी मौलिक हकलाई पूर्णरूपमा लागू गरी सरकारले स्वास्थ्यकर्मीहरूको उचित सम्मान गर्न आवश्यक रहेको उनको भनाइ थियो।

सांसद ढकालले देशको वर्तमान स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भनिन्, ‘स्वास्थ्य सेवा खस्किँदै गएको छ। बिरामी र आफन्तहरू गुनासो गर्न बाध्य छन्। संविधानले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक हक व्यवहारमा किन लागू हुन सकेको छैन? मापदण्ड नपुगेका अस्पताल, स्वास्थ्य संस्थामाथि सरकारले कडा कारबाही गरोस्। र स्वास्थ्यकर्मीलाई सरकारले सम्मानजनक ढङ्गले पारिश्रमिक दिइयोस्।’

सांसद ढकालले सरकारले आम नागरिकले पाउने स्वास्थ्य सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने दिशामा ठोस प्रयास गर्न नसकेको भन्दै कडा असन्तुष्टि समेत व्यक्त गरेकी छन्। सरकारी उदासीनताका कारण स्वास्थ्य सेवा कमजोर बन्दै गएको र यसले गर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको तर्फ उनले सरकारको ध्यानाकर्षण गराइन्।