प्रतिनिधि सभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन्।
बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरूले आफ्नो स्थानबाट उठेर ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए। उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए।
उनले यस प्रकारको विरोध आगामी दिनमा नगर्न आदेश दिए। सो पार्टीले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषमाथि जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएपछि यसअघिको गत वैशाख ३१ गतेको बैठक बहिष्कार गरेको थियो।
आजको बैठकमा कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरूको हेरफेर, प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस र आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका कार्यसूची रहेको छ।




















