भूमिहीन तथा सुकुम्बासी समुदायले बस्तीमा डोजर चलाउने कार्य तत्काल रोक्न सरकारलाई कडा चेतावनी दिएका छन्। समस्या समाधान नगरी जबरजस्ती हटाउन खोजिए देशभर आन्दोलन चर्काउने उनीहरूको भनाइ छ।
बुटवलमा आयोजित सुकुम्बासीको प्रदर्शनपछि कोणसभामा बोल्दै सुकुम्बासी अगुवाहरूले नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यलाई आग्रह गरे। बागमती प्रदेशबाट सहभागी लिजा राईले ‘जनता रहे सरकार रहने’ भन्दै सुकुम्बासीका समस्या समाधान गर्न ढिलाइ गर्न नहुने बताए। उनका अनुसार देशका लाखौँ नागरिक अझै भूमि समस्याबाट पीडित छन् र निमुखा वर्गमाथि अन्याय भइरहेको छ।
सुकुम्बासी अभियान्ता राजु शाहीले गरिब जनताको भोटबाट सरकार बनेको स्मरण गराउँदै यस्तै गतिविधि जारी रहे देशभर आन्दोलन चर्किने चेतावनी दिए। उनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा ध्यान नदिई सुकुम्बासीलाई एकै ठाउँमा राख्ने कार्य मानव अधिकार विपरीत भएको टिप्पणी गरे।
सुकुम्बासी सङ्घर्ष समिति रुपन्देहीका संयोजक खगेन्द्रप्रसाद पौडेलले दीर्घकालीन योजना बिना बस्तीमा डोजर चलाउँदा देशभर त्रास सिर्जना भएको बताए। राज्यले आफ्नै नागरिकमाथि गैर नागरिकजस्तो व्यवहार गरेको आरोप लगाउँदै उनले कडा आन्दोलन गर्ने चेतावनी दिए।
सङ्घर्ष समिति सल्लाहकार वीरेन्द्र विकले २०२८ सालदेखि बसोबास गर्दै आएका बस्तीलाई समेत राज्यले वैधानिकता दिन नसकेको उल्लेख गरे। “अहिले घर भत्काउने होइन, महँगी नियन्त्रण र रोजगारी सिर्जना गर्ने समय हो,” उनले भने। बलपूर्वक बस्ती हटाउन खोजिए प्रतिरोध गरिने र रुपन्देहीमा डोजर चलाइए जिल्लाभरका सुकुम्बासी एकजुट हुने चेतावनी समेत उनले दिए ।
बुटवलका सुकुम्बासी अगुवा नरेन्द्र दर्जीले वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकले अझै लालपुर्जा नपाउनु राज्यको कमजोरी भएको बताए। कर तिरे पनि जग्गाधनी प्रमाण नपाएको भन्दै उनले गुनासो गरे।
आज बुटवल आसपासका सुकुम्बासीहरू प्रदर्शनमा उत्रिएका थिए भने विभिन्न जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएका छन्। खास गरी तराईका २२ जिल्लाबाट आएका प्रतिनिधिसहित बुटवलमा सम्मेलन समेत आयोजना गरिएको जनाइएको छ।




















