बाजुराको धार्मिक आस्थाको धरोहर भू-स्वर्ग बडीमालिका जाने क्रममा एकजना तीर्थयात्रीको मृत्यु भएको छ। भैरहवा स्थायी घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थीको मृत्यु भएको हो।

मृतक पन्थीसहित ३ जनाको टोली बडीमालिका दर्शनको लागी जाने क्रममा बडीमालिका नगरपालिका वडा नम्बर ८ स्थित खारेको जंगलमा पुग्दा पन्थी एक्कासि बेहोस भएका थिए।

बेहोस भएका उनलाई सोही टोलीले उद्धार गरी जिल्ला अस्पताल पु¥याई उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए।

मृतक पन्थीको शव अहिले जिल्ला अस्पताल मार्तडी राखिएको छ। आज आफन्त पुगिसकेपछि लासको पोस्टमार्टम गरेर जिम्मा लगाइने जानकारी दिए।

मृतक पन्थीसँगै अर्घाखाँची छत्रदेव गाउँपालिका-७ घर भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा समूह उप-सचिव ३४ वर्षीय शिवहरी न्यौपाने, शाखा अधिकृत वर्ष ३२ का जीवन घिमिरे र लेखापाल वर्ष ३५ का उमेश शर्मा बडीमालिका दर्शनको लागी हिँडेका थिए।