काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिताका लागि आज फ्रान्स प्रस्थान गर्ने भएकी छन्। उनी साँझतिर प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।

काठमाडौँ महानगरपालिकाका अनुसार डंगोल एकल रूपमा उक्त अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन जान लागेकी हुन्। उनी त्यहाँ चार दिनसम्म रहँदै महोत्सवको अनुभव लिने तथा आयोजक पक्षसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

त्यस अवसरमा उनले कान्स फिल्म फेस्टिभलका प्रमुखलाई काठमाडौँ भ्रमणको निमन्त्रणा समेत प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ।

महानगरका अनुसार आगामी दिनमा आयोजना गर्न लागिएको काठमाडौँ फिल्म फेस्टिभलको पूर्वतयारी तथा अन्तर्राष्ट्रिय अनुभव आदान-प्रदानका उद्देश्यले यो भ्रमण तय गरिएको हो। महानगरले टोल-स्तरमै चलचित्र सम्बन्धी कार्यक्रम विस्तार गर्ने योजना समेत अघि बढाइरहेको छ।

यसअघि तत्कालीन काठमाडौँ महानगर प्रमुख बालेन शाहले पनि उक्त फेस्टिभलमा सहभागिता जनाइसकेका थिए। युनेस्कोले काठमाडौँलाई चलचित्र सहर (फिल्म सिटी) का रूपमा मान्यता प्रदान गरिसकेको सन्दर्भ पनि उल्लेख गरिएको छ।

यस वर्षको कान्स फिल्म फेस्टिभल मे २१ सम्म फ्रान्समा सञ्चालन हुने कार्यक्रम रहेको छ।