नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्च अदालतमा बहस भैरहेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ जारी छ।
अहिले टी ब्रेक भएको छ। त्यसअघि विपक्षीतर्फ (कांग्रेस) का वकिलले बहस गरिरहेका थिए। बहस चलिरहँदा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल इजलास पुगेका छ्न्। टी ब्रेकपछि शर्मा र भुसालले बहस गर्ने छन्।
यसअघि बहसका क्रममा वरिष्ठ अभिवक्ता दिनमणि पोखरेलले विशेष महाधिवेशन कानूनसम्वत् रहेको तर्क गरे। उनले विशेष महाधिवेशन राजनीतिक दलसम्बन्धी ऐन र दलको विधानसम्वत् रहेको तर्क पेश गरे। यो पूर्णतः दलको आन्तरिक मामला भएको उनको जिकिर छ।
कांग्रेसका तर्फबाट उपसभापति झन्डै १५ जना कानुन व्यवसायीले बहस गर्दैछन्। इजलासले आज दिउँसो साढे ३ बजेसम्म बहस सक्न ‘रूलिङ’ गरेको छ।
रिट निवेदक रहेका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट जवाफका लागि इजलासले एक घण्टाको समय छुट्याएको छ।
हिजो रिट निवेदक र निर्वाचन आयोगको तर्फबाट सरकारी वकिलले बहस गरेका थिए। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्णय निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट दायर गरेको छ।
उक्त मुद्दा विचाराधीन रहेको अवस्थामा १५ औँ महाधिवेशनको कार्यतालिका ल्याइएको र सदस्यता खुलाउने निर्णयविरुद्ध तत्कालीन कावा सभापति पूर्णबहादुर खड्काले अर्को रिट दायर गरेका छन्।




















