दोस्रो राष्ट्रिय आर्थिक गणना आजदेखि सुरु, असार पहिलो सातासम्म तथ्याङ्क सङ्कलन हुने
देशको समग्र आर्थिक गतिविधिको यथार्थ चित्रण गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय आर्थिक गणना आज (बुधवार) देखि औपचारिक रूपमा सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणनाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ भने गणक तथा सुपरिवेक्षकहरू देशभरि सम्बन्धित क्षेत्रमा खटिइसकेका छन्।
निर्धारित कार्य तालिकाअनुसार आगामी असारको पहिलो साताभित्र स्थलगत तथ्याङ्क सङ्कलन सम्पन्न गरिनेछ। यसका लागि करिब ५ हजार जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ। यस गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकृति, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा मुख्य सूचकहरू समेटिनेछन्।
त्यसैगरी, देशभरि दर्ता भएका तथा नभएका साना–ठुला व्यापार प्रतिष्ठान, स्वरोजगार र रोजगारी सिर्जना गर्ने संस्थाहरू, उद्योग–कलकारखाना, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, निजी तथा सरकारी विद्यालय र अस्पतालहरू समेत गणनाको दायरामा पर्नेछन्। आर्थिक गणनाका लागि आवश्यक पूर्वतयारी फागुन मसान्तसम्ममै सम्पन्न भइसकेको छ। चैतको सुरुवातमै ७७ जिल्लाका साथै थप ७ गरी कुल ८४ वटा कार्यालय स्थापना गरिएका छन्, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।
यसअघि विसं २०७५ मा गरिएको राष्ट्रिय आर्थिक गणनामा देशभरि ९ लाख २३ हजार ३५६ वटा प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। देशको औद्योगिक तथा आर्थिक क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न महत्त्वपूर्ण मानिएको यस गणनामा सक्रिय सहभागिता जनाउन अर्थ मन्त्रालयले सबै सरोकारवालासँग आग्रह गरेको छ।