नेपाली कांग्रेसको असन्तुष्ट समूहले क्रियाशील सदस्यता खारेजीको विषयमा आफ्नो धारणा राखेको छ। पार्टी निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै क्रियाशील खारेज गर्ने विषयमा आश्चर्य भएको उल्लेख गरेका छन्।
उनले पार्टीको आधिकारिकता सम्बन्धमा विवाद विचाराधीन रहेको अवस्थामा वर्तमान कार्यसमिति नै ‘तथाकथित विशेष महाधिवेशनबाट बनेको’ र स्वीकार्न नसकिने उल्लेख गरेका छन्।
‘तथाकथित विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिले नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनका लागि विधान बमोजिम गरिएको क्रियाशील सदस्यता नवीकरण तथा वितरणलाई सार्वजनिक भाषणबाट खारेजीको घोषणा गरिएको कुरा सार्वजनिक सञ्चार माध्यमबाट सम्प्रेषण भएको विषयले हामीलाई आश्चर्यचकित र गम्भीर बनाएको छ‚’ उनले लेखेका छन्।
विज्ञप्तिमार्फत् उनले निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्थामा पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत् खारेज गरिने विषय हुन नसक्ने उल्लेख गरेका छन्।
‘यो सदस्यता त कुनै नेताको जितहारसँग होइन नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाई, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका शहीद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा हो,’ विज्ञप्तिमा उल्लेख छ।




















