झापाको अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित एक सिरकको गोदाममा  बुधवार दिउँसो आगलागी भएको छ। नुर मोहम्मद र उनकी श्रीमती सलमा खातुनद्वारा सञ्चालित बिर्तामोड कपास प्रशोधन उद्योगको (सिरक गोदाम) मा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको झापा प्रहरीले जनाएको छ। 
आज दिउसो अचानक सुरु भएको आगोले गोदाममा रहेका मेशिन र कच्चा पदार्थहरूमा ठुलो क्षति पुर्‍याएको छ। आगलागी भएलगत्तै स्थानीय बासिन्दा, सुरक्षा निकाय र विभिन्न पालिकाका दमकलहरूको सक्रियतामा आगो  नियन्त्रणमा लिइएको थियो। 
आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, चारआलीस्थित नेपाली सेनाको अरिदमन गण र सशस्त्र प्रहरी बल नेपालको बेस क्याम्पबाट सुरक्षाकर्मीहरू परिचालन गरिएका थिए।
आगो निभाउन बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, दमक नगरपालिका, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाबाट आएका दमकलहरू प्रयोग गरिएको थियो। सुरक्षाकर्मी, दमकल र स्थानीयको सामूहिक प्रयासमा दिउँसो २ः२५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगलागीबाट टिनको बेरा र छानो भएको गोदाम घर, भित्र रहेको कपास बनाउने मेशिन र ठुलो परिमाणमा रहेको कपास (रुवा) पूर्णरूपमा जलेर नष्ट भएको छ। आगलागीबाट जम्मा ६० लाख रुपैयाँ बराबरको क्षति भएको विवरण प्राप्त भएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।