भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।षडानन्द नगरपालिका–१३ मुखियाटोल घर भई विगत १२–१३ वर्षदेखि आफ्ना सानाबुवा शंकराज तामाङको घरमा बस्दै आएका २४ वर्षीय सम्मरबहादुर तामाङलाई मङ्गलवार बेलुका ९ बजे कुटपिट गरिएको हो।
उनलाई षडानन्द नगरपालिका–१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका उनीहरूको खोजतलासका क्रममा बुधवार बिहान चारै जनालाई घरमा फेला पारी नियन्त्रणमा लिइएको र प्रहरी चौकी बोयामा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक नवराज खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।




















